नियम २१
मुद्दाको सुनुवाई र बहस व्यवस्थापन
  (१) इजलासको अधिकारक्षेत्र अन्तर्गतको मुद्दामा सामान्यतः लिखित जवाफ पेश भएपछि वा सोको अवधि व्यतित भइसकेपछि सुनुवाईको लागि यथाशीघ्र इजलास समक्ष पेश गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम इजलास समक्ष पेश हुने मुद्दाको पेशीको जानकारी सम्भव भएसम्म सूचना प्रविधिको माध्यमबाट सम्बन्धित पक्षका कानून व्यवसायीलाई समेत दिइनेछ ।
(३) उपनियम (२) बमोजिमको जानकारी प्राप्त गरेपछि सम्बन्धित पक्षको कानून व्यवसायीले देहायका कुराहरु खुलाई आफूले गर्ने बहसको लिखित प्रारुप सूचना प्रविधिको माध्यमबाट अदालतलाई उपलब्ध गराउनु पर्नेछः –
(क) मुद्दामा अन्तरनिहित संविैधानिक, कानूनी र तथ्यगत प्रश्नहरु,
(ख) खण्ड (क) बमोजिमका प्रश्नका सम्बन्धमा पहिले कायम भएका नजिर र सोको प्रतिलिपि,
(ग) सन्दर्भ सामग्री र सोको प्रतिलिपि,
(घ) बहसको मुख्य बुँदाहरु,
(ङ) एकभन्दा बढी कानून व्यवसायी रहेको भए कुन कुन बँदामा कुन कानून व्यवसायीले बहस गर्ने भन्ने कुरा ।
(४) उपनियम (३) बमोजिम प्रारुप प्राप्त भइसकेपछि इजलासले अनुमति दिएमा बाहेक सम्बन्धित पक्षले थप कानून व्यवसायी नियुक्त गर्न पाउने छैन ।
(५) उपनियम (३) बमोजिम प्राप्त बहसको प्रारुप रजिष्ट्रारले सम्बन्धित मिसिल सामेल गराई इजलास समक्ष पेश गर्नेछ ।
(६) उपनियम (१) बमोजिम पेश भएको मुद्दाम इजलासले आवश्यक देखेमा विवादित प्रश्न यकिन गरी दुबै पक्षका कानून व्यवसायी तथा अदालतका सहयोगी (एमिकस क्युरी) समेतलाई ती प्रश्नहरुमा सीमित रही लिखित बहसनोट पेश गर्न आदेश दिन सक्नेछ ।
(७) उपनियम (६) बमोजिम आदेश भएकोमा अन्तिम सुनुवाई हुनुभन्दा कम्तीमा दुई दिन अगावै दुबै पक्षका कानून व्यवसायी तथा अदालतका सहयोगी (एमिकस क्युरी) ले बहसनोट पेश गर्नुपर्नेछ ।
(८) उपनियम (१) बमोजिम पेश भएको मुद्दामा निवेदब वा विपक्षीको सङ्ख्या जतिसुकै भएपनि इजलासले निर्धारण गरेका विवादित प्रश्नहरुमा मात्र सीमित रही बहस गर्ने गरी सामान्यतः प्रत्येक पक्षका कानून व्यसायीलाई आधा घण्टा र अदालतका सहयोगी (एमिकस क्युरी) लाई आधा घण्टा समय निर्धारण गरिनेछ ।
तर विवादको विषयवस्तु र निरुपण हुनुपर्ने प्रश्नको गम्भिरता हेरी इजलासले आवश्यकता अनुसार थप समय प्रदान गरी बहस गराउन बाधा पर्ने
छैन ।
(९) उपनियम (६) बमोजिम निर्धारित प्रश्न र उपनियम (८) बमोजिम निर्धारित समयभित्र सीमित रही सम्बन्धित पक्षका कानून व्यवसायी र अदालतका सहयोगी (एमिकस क्युरी) ले बहस गर्नुपर्नेछ ।
(१०) उपनियम (८) बमोजिम बहस गर्न कुनै पक्षबाट दुईभन्दा बढी कानून व्यवसायी नियुक्त भएको अवस्थामा त्यस्तो पक्षबाट बहस गर्ने प्रमुख
कानून व्यवसायी र अन्य व्यवसायीको सङ्ख्या र बहस गर्ने बुँदा समेत सम्बन्धित पक्षका कानून व्यवसायी स्वयंले यकिन गर्नुपर्नेछ ।
(११) अदालतका सहयोगी (एमिकस क्युरी) को समेत राय लिने गरी आदेश भएको मुद्दामा दुबै पक्षका कानून व्यवसायीको बहस र जवाफी बहस समाप्त भएपछि अदालतका सहयोगी (एमिकस क्युरी) को बहस हुनेछ ।
(१२) उपनियम (११) बमोजिम अदालतका सहयोगी (एमिकस क्युरी) को बहस भएपछि दुबै पक्षका कानून व्यवसायीले खण्डन वा समर्थन गर्ने गरी पुन बहस गर्न पाउने छैन ।